राजपाको बन्द प्रभाव : कहाँ के भयो ?

Share On Facebook ! Tweet This ! Share On Google Plus ! Pin It ! Share On Tumblr ! Share On Reddit ! Share On Linkedin ! Share On StumbleUpon !
सिरहा–सांसद र उम्मेदवारको गाडी तोडफोड, स्थानीय तह निर्वाचनको विरोधमा उत्रिएको राष्ट्रिय जनता पार्टीले मंगलबार मधेस, थरुहट र लिम्बुवान  बन्द आव्हान गरेको छ ।

 राजपाको बन्दले पुर्वी पहाडी जिल्लामा खासै प्रभाव नपरेपनि तराई मधेसका जिल्लामा बन्दको प्रभाव परेको छ । सरकारले आफना माग पुरा गर्न चासो नदेखाएको भन्दै आन्दोलन घोषणा गरेको राजपाले मंगलबार मधेस, थरुहट र लिम्बुवान  बन्द आव्हान गरेको हो । बन्दका कारण तराईका जिल्लाको  जनजीवन प्रभावित बनेको छ भने नेपालगञ्ज, नवलपरासी लगायतका स्थानमा बन्दकर्ताले सावरीसाधनमा तोडफोड समेत गरेका छन् ।

राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, आन्दोलनका क्रममा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लगायतका माग राख्दै जेठ २९ बाट आन्दोलनका कार्यक्रम गर्दै आएको छ । उसले दोस्रो चरणको स्थानीय तह निर्वाचन बिथोल्ने उदेश्यसहित आमहडताल सहितका कार्यक्रम घोषणा गरिसकेको छ ।

सांसद साहको गाडी तोडफोड
महोत्तरीमा नेकपा एमालेका सांसद दीपनारायण साह चढेको गाडीमा राजपाका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ५ का सांसद साह चढेको बा१२च ९६९ नम्बरको गाडीमा औरही गाउँपालिका १ मा राजपा कार्यकर्ताले ढुंगा प्रहार गरी तोडफोड गरेका हुन् ।
 इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी शालिग्राम शर्माका अनुसार बिहानैदेखि औरही–जलेश्वर सडक खण्डमा सडक बन्द गरी बसेका राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडी आएलगतै तोडफोड गरेका थिए । ढुंगा प्रहारबाट गाडीको ड्राइभर बस्ने सिटतर्फको सिसा फुटेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

रात्री बस बाटोमै रोकिए
सप्तरी र सिराहामा राजपाका कार्यकर्ता विहानैबाट सडकमा उत्रिएका छन् । बन्द सफल पार्न लहान, सिरहा, गोलबजार, मिर्चैया, सुखीपुर लगायतका बजार क्षेत्रमा बन्दकर्ताहरु मायकिङ् गरेर बसेका छन् । सडक क्षेत्रमा जम्मा भएका बन्दकर्ताले सप्तरीको कदमाहा चोकमा पूर्व हिँडेका सयौं यात्रुबाहक रात्रि बस र मालबाहक ट्रकहरु रोकेर राखेका छन् । उनीहरुले सडकमै टायर बालेर प्रदर्शन समेत गरेका छन् । बन्दको कारण पूर्वपश्चिम सडक र सहायक सडकहरुमा आकस्मिक सेवा, प्रेस, एम्बुलेन्स, कूटनीतिक नियोगका सवारीसाधन, मोटरसाइकल र छिटफुट विद्युतीय रिक्साबाहेक लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन् ।

सवारी साधन नचलेर पैदलै हिँड्नु पर्दा चर्को घाममा साधारणले सास्ती व्यहोर्नु परेको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मंगलबार बिहान सप्तरीको सुरुङ्गा ३ लक्ष्मीपुर जङ्गलमा ना. ६ ख २५२६ नं. को खाली ट्रक तोडफोड गरेका छन् । उता, सप्तरीमा  लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन भएका छैनन । बन्दले शैक्षिक संस्था, बजार, पसल, उद्योग कलकारखाना ठप्प छन् । प्रशासनले अप्रिय घटना हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको स्थानीय प्रशासनले जनाएको छ ।

उम्मेदवारको गाडी तोडफोड
नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सुरेशकुमार कनोडियाको गाडीमा बन्दकर्ताले मंगलबार तोडफोड गरेका छन् । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । गाडी तोडफोड गर्ने रौनियारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।

परासीमा झडप
राष्ट्रिय जनता पार्टी नेपालको बन्दका क्रममा नवलपरासीमा प्रहरी र राजपाका कार्यकर्ताबिच झडप भएको छ । राजपाका कार्यकर्ताले  मंगलबार विहान परासीमा बा १४ च ७०६९  नम्बरको स्कार्पियो तोडफोड गरेपछि झडप भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठि चार्ज गर्नुपरेको  थियो ।

Author:

«
Next
Newer Post
»
Previous
Older Post
 
Copyright ©2016 हाम्राे यात्रा • All Rights Reserved.
Template Design by BTDesigner • Powered by Blogger