काठमाडौं, जेठ । एएएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा मंगलबार भएको खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो । नेपालले पाँच तथा यमनले सात पटक पोस्ट प्रहार गरेका थिए । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् ।

खेलपछि भएको पत्रकार सम्मेलनमा प्रशिक्षक ग्योतुकी कोजीले यमनसँग नेपालले राम्रै खेलेको बताए । उनले भने ‘नेपालको प्रदर्शन खराब होइन, राम्रो गरेको हो । तर गोल हुन सकेन । आशा राम्रो थियो । त्यस अनुसार भने भएन ।’
एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको यमन मंगलबारको खेलमा नेपालसँग बराबरी गरेपछि दुई खेलबाट चार अंक जोड्न सफल भएको छ । नेपालको भने दुई खेलबाट एक अंक मात्रै भएको छ ।